नेपालका पूर्व प्रधानमन्त्रीहरु

गिरिजाप्रसाद कोइराला

वि.सं.२०४८ – २०५१, वि.सं. २०५४ – २०५५, वि.सं. २०५५ – २०५६, वि.सं. २०५६ – २०५८, वि.सं. २०६३ – २०६५

गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ मा कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा भएको हो । त्यतिबेला कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्सामा निर्वासित जीवन बिताइरहेको थियो । गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको वि.सं. २०४२ सालमा निधन भएको थियो । कोइरालाकी पुत्री सुजाता कोइराला नेपाल सरकारको उपप्रधानमन्त्री पनि हुनु भएको थियो ।

उहाँले भारतीय स्वतन्त्रता आन्दोलनलाई पनि नजिकबाट हेर्ने अवसर पाउनुभयो । कोइराला वि.सं. २००४ सालमा विराटनगरको मजुदूर आन्दोलनमा सहभागी हुनुभएको थियो । कोइराला राणा शासनको अन्त्यपछि नेपाली कांग्रेस मोरङ जिल्ला सभापति हुनुभयो । वि.सं. २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले ७ वर्ष जेल सजायँ भोग्नुभयो । वि.सं. २०२७ साल देखि भारतमा निर्वासित जीवन बिताउनुभएका कोइराला वि.सं. २०३३ सालमा भारतको पटनामा भएको कांग्रेसको महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभयो । वि.सं. २०४७ सालसम्म कांग्रेस महामन्त्री रहनुभएका कोइराला वि.सं.२०४८ को आमनिर्वाचिनपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मंसिरसम्म प्रधानमन्त्री रहनु भएका कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।  कोइराला वि.सं. २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर–१ सुनसरी क्षेत्र नम्बर–३ का साथै वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर–१ र सुनसरीको क्षेत्र नम्बर–५ बाट सांसद निर्वाचित हुनुभएको थियो । वि.सं. २०५३ सालमा कांग्रेसको नवौं महाधिवेशनबाट उहाँ पार्टी सभापति हुनुभयो । तत्कालीन नेकपा एमालेको संसदीय दल विभाजन भएपछि कोइराला वि.सं. २०५४ चैत ३० गते दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । एमालेबाट विभाजन भइ गठन भएको नेकपा (माले) कोइराला नेतृत्वको सरकारमा पछि सामेल भएको थियो । अल्पमतको प्रधानमन्त्री बन्नुभएका कोइरालाले राजीनामा दिएपछि तत्कालीन नेकपा एमाले सहितको संयुक्त सरकारको नेतृत्व गर्दै उहाँ तेस्रो पटक वि.सं. २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । वि.सं. २०५६ साल बैशाखमा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बन्नुभएका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले पदबाट राजीनामा दिएपछि  वि.सं. २०५६ साल चैत ७ गते कोइराला चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको थियो । चौथो पटक प्रधानमन्त्री बन्नु भएका कोइरालाले वि.सं. २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिनुभएको थियो । वि.सं. २०६३ सालको जनआन्दोलनपछि वि.सं. २०६३ वैशाखमा उहाँ फेरि पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । वि.सं. २०६६ साल चैत्र ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उहाँको निधन भएको थियो ।