कृष्णप्रसाद भट्टराईको जन्म संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं १९८१ पुसमा भारतको बनारसमा भएको थियो । राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेर सपरिवार बनारस पुगेको भट्टराई परिवारले बिहारको रामनगर राज्यका राजाका पुरोहितको काम गर्दै आएको थियो । भारतीय स्वतन्त्रताका लागि भएको आन्दोलनमा सकृय पुरोहित संकटाप्रसादका चार भाइ छोराहरू मध्ये कान्छा कृष्णप्रसाद राजनीतिमा अगुवा हुन पुग्नुभयो । किशुनजी नामले समेत चिनीने भट्टराई आजीवन अविवाहित रहनु भयो ।
बनारसमा जन्मनु भएका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो । उहाँले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गर्नुभयो । सोही विषयमा एम.ए. तहको अध्ययन गर्दागर्दै भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कारण पक्राऊ पर्नुभयो र अध्ययन पूरा हुन सकेन । कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार पनि हुनुहुन्थ्यो ।
उहाँ वि.सं. २०१५ सालमा नेपालको पहिलो संसद (प्रतिनिधिसभा)का सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि वि.सं. २०४७ साल वैशाख ६ गते प्रधानमन्त्री नियुक्त हुनुभयो । वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो । वि.सं. २००७ सालमा कांग्रेसले चलाएको सशस्त्र क्रान्तिमा उहाँ जनकपुर–उदयपुर कब्जा गर्ने कमाण्डर हुनुहुन्थ्यो ।
वि.सं. २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेर उहाँले नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने भूमिका बहन गर्नुभएको थियो । तर आफू प्रधानमन्त्री हुँदै गराएको वि.सं. २०४८ को आम निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नं १ बाट तत्कालीन नेकपा (एमाले)का महासचिव तथा चर्चित नेता मदन भण्डारीबाट पराजित हुनुभएको थियो ।
वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा दोस्रो स्थानमा पुगेको उहाँको पार्टी नेपाली कांग्रेस पछि वि.सं. २०५६ को आम निर्वाचनमा उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा गएको थियो । सो चुनावमा कांग्रेसले बहुमत हासिल गर्यो र वि.सं. २०५६ जेठ १७ गते उहाँ दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो । संसदमा पार्टीको बहुमत रहे पनि उहाँको कार्यकाल १० महिना मात्रै रहन पुग्यो । वि.सं. २०५६ चैत ७ गते उहाँ प्रधानमन्त्री पदबाट हट्नुभयो र गिरिजाप्रसाद कोइराला पुन प्रधानमन्त्री बन्नुभयो ।
भट्टराई सन्
१९४२ को अंग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी हुने क्रममा
अंग्रेज सरकारबाट पक्राउ पर्नुभएको थियो । उहाँले सन् १९४५ मा बनारस हिन्दू
युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा पनि काम गर्नुभयो ।
त्यसपछि उहाँले नेपालबाट राणा शासन हटाउने आन्दोलनको अगुवाई गर्न थाल्नुभयो । त्यसक्रममा
भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा संगठन
मन्त्रीको पद सम्हाल्नुभयो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र
कांग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली कांग्रेस गठनपछि उहाँ सहमहामन्त्री
बन्नुभयो । नेपाली कांग्रेसको वि.सं. २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले
स्वास्थ्यको कारण देखाई भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभयो । बीपीको निधनपछि वि.सं. २०३९ मंसीरमा गणेशमान सिंह
निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका
भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा रहेर नेपाली कांग्रेसको नेतृत्व
गर्नुभयो । नेपाली कांग्रेसको आठौं महाधिवेशन वि.सं. २०४८ मा सर्वसम्मतिबाट सभापतिमा
निर्वाचित भएपछि भट्टराईले वि.सं. २०५३ सम्म सभापतिको पद सम्हाल्नुभयो । वि.सं. २०४६ को जनआन्दोलन घोषणा
भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि भट्टराईले गर्नुभएको थियो । जीवनको
उत्तरार्दमा भने उहाँले सैद्धान्तिक विमति जनाउँदै नेपाली कांग्रेस परित्याग गर्नुभयो ।
वि.सं. २०६७ फागुन २० गते उहाँको निधन भयो ।