नेपालका पूर्व प्रधानमन्त्रीहरु

जङ्गबहादुर राणा

बि.सं.१९०३ – १९१३, बि.सं.१९१४ – १९३३

नेपालमा राणा शासनका प्रवर्तक प्रधानमन्त्री जङ्गबहादुर राणाको जन्म पिता बालनरसिंह कुँवर र माता गणेशकुमारीको गर्भबाट वि.सं. १८७४ असार ७ गते भएको थियो । उहाँको वास्तविक नाम वीरनरसिंह कुँवर थियो । उहाँको पिता बालनरसिंह कुँवर राजा रणबहादुर शाहका रक्षक हुनुहुन्थ्यो ।

सानैदेखि कुस्ती, बन्दुकवाजी, घोडसवार आदि युद्धकलामा निपुण साहसी स्वभावका उहाँ १६ वर्षको कलिलो उमेरमा तत्कालीन सेनाको सुबेदार पदमा नियुक्त हुनुभएको थियो । वि.सं. १८९७ मा राजा राजेन्द्र विक्रम शाह शिकार खेल्न गएका बेला उहाँले आफ्नो क्षमता प्रदर्शन गर्दै जगंली हात्ती समातेपछि प्रभावित भएर राजाले उहाँलार्इ तुरून्तै तोपखानाको कप्तानी पदमा नियुक्ति दिनुभएको थियो । उहाँ पछि युवराज सुरेन्द्र विक्रम शाहको अगंरक्षक हुँदै राजा राजेन्द्रविक्रम शाहको आठपहरियामा नियुक्त हुनुभएको थियो ।

नेपाली र्इतिहासकै रक्तपातपूर्ण वि.सं. १९०३ भदौ ३१ को कोतपर्व पछि प्रधानमन्त्रीको पदमा पुग्नुभएको जंगबहादुर राणा  वि.सं. १९०३ कात्तिक १२ को भण्डारखाल पर्वपछि राजसंस्था भन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा स्थापित हुनुभयो ।

उहाँको पहिलो कार्यकाल वि.सं. १९०३ असोज ३ देखि वि.सं. १९१३ साउन १८ सम्म रहेको थियो भने भार्इ बमबहादुर कुँवर राणाको निधन पछि पुनः प्रधानमन्त्री बन्नुभएका उहाँको दोस्रो कार्यकाल वि.सं. १९१४ जेठ १४ देखि वि.सं. १९३३ माघ १६ सम्म कायम रहेको थियो ।  

उहाँको कार्यकालमा नेपालकै पहिलो लिखित कानून मुलुकी ऐन, २०१० जारी भएको थियो । वि.सं. १८७२ को सुगौली सन्धी पश्चात नेपालले गुमाएको भूभागहरूमध्ये त्यसबेला नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला उहाँकै कार्यकालमा फिर्ता भएको थियो ।