नेपालका पूर्व प्रधानमन्त्रीहरु

मरिचमान सिंह श्रेष्ठ

2077-3-28

वि.सं. १९९७ कार्तिक १७ गते सल्यान जिल्लाको खलङ्गा बजारमा जन्मनुभएका मरिचमान सिंह श्रेष्ठ पञ्चायती व्यवस्थाको अन्त्यतिर वि.सं. 2043 जेष्ठमा नेपालका 27 ‍औं प्रधानमन्त्री बन्नु भयो । त्यस अघि उहाँ तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष हुनुहुन्थ्यो। नेवार समुदायबाट प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ। वि.सं. २०१७ सालदेखि राजनीतिमा सक्रिय उहाँ वि.सं. २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य हुनुभयो । दरबारको विश्वासपात्र भएका कारण वि.सं. २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बन्नु भयो। उहाँ पञ्चायती व्यवस्थामा प्रभावशाली राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँको कार्यकालमा नेपाल-भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपालमाथि नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध सहित 16 महिना लामो नाकाबन्दी लगायो। उहाँले भारतसँग नझुक्ने अडान लिएर बस्नुभयो र उक्त अडानका कारण उहाँको राष्ट्रवादी छविका नेताका रूपमा प्रसंशा हुने गरेको छ । 

उहाँकै प्रधानमन्त्रीत्वकाल वि.सं. 2046 सालमा नेपालमा प्रजातन्त्र प्राप्तिको शान्तिपुर्ण जनआन्दोलन  शुरु भयो । उक्त आन्दोलमाथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले उहाँ सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्नुभयो। २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।उहाँ पछि वि.सं. 2046 साल चैत 24 गते लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुनुभएको थियो ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उहाँको ७१ वर्षको उमेरमा वि.सं.२०७० साउन ३० गते काठमाडौंमा निधन भयो।