वि.सं. २०५१ – २०५२
सन् १९२० जून ९ मा काठमाडौंको लाजिम्पाटमा जन्मनु भएका मनमोहन अधिकारी
निर्वाचन मार्फत प्रधानमन्त्री हुने संसारकै पहिलो कम्युनिस्ट नेता हुनुहुन्छ ।
काठमाडौंमा जन्मे पनि अधिकारीको वाल्यकाल विराटनगरमा वित्यो । सन् १९३८ मा
अध्ययनका शिलशिलामा वाराणसी जानु भएका अधिकारीले त्यहि बीएससीसम्मको अध्ययन
गर्नुभयो । त्यसैबेला सन् १९४२ तिर उहाँ अंग्रेज साम्राज्य विरुद्ध "भारत छोडो" आन्दोलनमा सहभागी हुनुभयो । उहाँलाई त्यस क्रममा
ब्रिटिश सरकारले गिरफ्तार गर्यो
र जेल पठायो । यहाँबाट उहाँको अध्ययन पूरा हुन पाएन
।
भारतबाट विराटनगर फर्केपछि उहाँ विराटनगर जुटमिलमा काम गर्न थाल्नुभयो र
त्यसै क्रममा ट्रेड यूनियनको नेता बन्नुभयो । अधिकारीले विसं २००३ सालमा
विराटनगरमा भएको मजदूर आन्दोलनको नेतृत्व गर्नुभयो । मजदूर आन्दोलनकै क्रममा उहाँ
त्यसबेला तीन वर्ष जेल पर्नुभयो । जेलबाट छुटेपछि राणा शासन विरुद्ध २००७ सालमा
भएको आन्दोलनमा सहभागि हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि उहाँ
पार्टीको सम्पर्कमा आउनुभयो । अधिकारी नेकपाको पहिलो तथा दोस्रो महाधिवेशनबाट
महासचिवमा निर्वाचित हुनु भयो । कम्युनिस्ट पार्टीहरुको विभाजनपछि नेकपा (माक्र्सवादी)को
अध्यक्ष हुनुहुन्थ्यो । विसं २०१७ सालमा बहुदलीय व्यवस्था अन्त्य गरी तत्कालीन
राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेपछि मनमोहन पनि पक्राउ पर्नुभयो र विसं
२०२५ सालसम्म जेल बस्नुभयो ।
विसं २०४६ सालमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनको पनि सक्रिय नेतृत्व
गर्नु भएका अधिकारीको पार्टी नेकपा (माक्र्सवादी) र तत्कालीन नेकपा (माले)बीच विसं
२०४७ सालमा पार्टी एकीकरण भयो । अधिकारी एकीकरण बाट बनेको नेकपा (एमाले)को
संस्थापक अध्यक्ष बन्नुभयो । विसं २०४८ सालको आम निर्वाचनमा उहाँ सुनसरी १ बाट
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । २०४८ सालको आम निर्वाचनपछि
अधिकारी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता बन्नुभयो । विसं २०५१ को
मध्यावधि निर्वाचनमा भने अधिकारी काठमाडौं क्षेत्र नं १ र ३ बाट विजयी हुनु भएको
थियो । विसं २०५६ सालको आम निर्वाचनमा काठमाडौं १ र ३ मा उम्मेदवार रही चुनाव
प्रचारकै क्रममा २०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि
सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ विसं २०५१ मंसिर १४ गते
प्रधानमन्त्री बन्नुभयो । मनमोहन अधिकारीले नेतृत्व गर्नु भएको सरकार नेपाली
कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र
नेपाल सद्भावना पार्टीले राखेको अविश्वास प्रस्तावका कारण ढल्यो । सरकारमाथि
अविश्वास प्रस्ताव राखिएका बेला उहाँ हवाई दुर्घटनाका कारण अस्पतालमा हुनुहुन्थ्यो
। अस्पतालको शैयाबाटै उहाँले आफूमाथिको अविश्वास प्रस्तावको संसद्लाई जवाफ दिनु
भएको थियो । उहाँको सरकार विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि विसं २०५२ भदौ २६
गते उहाँ प्रधानमन्त्री पदबाट मुक्त हुनुभयो । उहाँको कार्यकालपछि शेरबहादुर देउवा
कांग्रेस, राप्रपा र नेपाल सद्भावना
पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नु भएको थियो ।