नेपालका पूर्व प्रधानमन्त्रीहरु

मातृका प्रसाद कोइराला

वि.सं.२००८ – २००९, वि.सं.२०१० – २०११

प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा पिता कृष्ण प्रसाद कोर्इराला र माता मोहन कुमारी कोर्इरालाको कोखबाट जन्म भएको थियो


उहाँका पिताको वि.सं. १९७६ सालमा तत्कालिन राणा सरकारले सर्वस्वहरण गरेपछि उहाँ सहित स- परिवार भारत प्रस्थान गर्नुभएको थियो । उहाँले भारतबाटै स्नातक सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको थियो । तत्कालिन भारतीय स्वतन्त्रताको आन्दोलनमा उहाँको सक्रिय संलग्नता थियो । वि.सं. २००४ सालमा उहाँसमेतको संलग्नतामा नेपाली राष्ट्रिय कांग्रेस पार्टिको स्थापना भएको थियो पार्टिको जोगवनी सम्मेलनबाट उहाँ पार्टिको सभापतिमा निर्वाचित हुनुभयो । 


वि.सं. २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना पश्चात मोहन शमशेरको नेतृत्वमा नेपाली कांग्रेस समेतको संलग्नतामा १० सदस्यीय मन्त्रीमण्डल गठन भयो । तर राणा र कांग्रेसको सत्ता संघर्षका कारण उक्त सरकार विघटन भयो र राणा शासन पश्चात पहिलो नागरिक प्रधानमन्त्रीको रूपमा वि.स. २००८ साल मंसिर १ देखि वि.सं. २००९ साउन २६ गतेसम्म उहाँले सरकारको नेतृत्व गर्नुका साथै वि.सं २०१० असार २ देखि वि.स. २०११ फागुन १९ सम्म पुनः उहाँले प्रधानमन्त्रीको दोस्रो कार्यकाल पुरा गर्नुभएको थियो ।