वि.सं. २०६७ माघ २०- वि.सं. २०६८ भदौ ११
तत्कालीन
नेकपा एमालेका अध्यक्ष तथा हाल नेकपाका वरिष्ठ नेता झलनाथ खनाल वि.सं. २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित
हुनुभएको थियो । खनाल वि.सं. २०६८ भदौ ११ सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
वि.सं २००६
चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मनु भएका खनाल वि.सं. २०४८ सालपछि इलाम जिल्ला क्षेत्र नं. १
बाट पटकपटक संसद सदस्यमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि बनेको
अन्तरिम सरकारमा कृषि, भूमीसुधार
तथा वन मन्त्री बन्नु भएका खनाल पटक पटक मन्त्री बन्नु भएको थियो । विद्यार्थी
जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लाग्नुभएका खनाल तत्कालीन नेपाल कम्युनिष्ट
पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म हुनुभएको थियो । वि.सं. २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्सवादी)
मिलेर नेकपा एमाले भएपछि खनाल सो पार्टीको स्थायी समिति सदस्य रहँदै आउनु भएको
थियो । २०६६ सालको बुटवल महाधिवेशनमा तत्कालीन एमालेको अध्यक्ष निर्वाचित हुनु
भएको हो ।
त्रिभुवन
विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक गर्नु भएका खनालले वि.सं.
२०२५ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको सदस्यता
लिएसँगै राजनीतिक यात्राको सुरूवात गर्नु भएका खनालले ३३ वर्षको उमेरमा नेकपा
(माले)को महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी
चित्रकारसँग जनवादी विवाह गर्नुभएको थियो ।
खनालले
राजनीतिक जीवनको सुरूवातसँगै विज्ञान विषयको शिक्षकका रूपमा जागीरे जीवन पनि
विताउनु भयो । उहाँ वि.सं. २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष हुनुभएको थियो
। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा
सक्रिय हुनुभएको थियो । नेकपा एमालेको पाँचौं, छैठौं र सातौं महाधिवेशनपछि एमालेको
केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा सदस्य रहेर खनालले पार्टीको काम गर्नुभएको
थियो । बुटवलमा सम्पन्न तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनबाट अध्यक्षमा
निर्वाचित हुनुभएकोथियो । उहाँ पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भइ गठित नेकपाको
वरिष्ठ नेता हुनुहुन्छ ।