2067/10/23-2068/5/11
तत्कालीन नेकपा एमालेका अध्यक्ष तथा हाल नेकपाका वरिष्ठ नेता झलनाथ खनाल वि.सं. २०६७
माघ २० मा प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । खनाल वि.सं. २०६८ भदौ ११ सम्म प्रधानमन्त्री
हुनुहुन्थ्यो ।
वि.सं २००६ चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मनु भएका खनाल वि.सं. २०४८
सालपछि इलाम जिल्ला क्षेत्र नं. १ बाट पटकपटक संसद सदस्यमा निर्वाचित हुनु भएको
थियो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमीसुधार तथा वन मन्त्री बन्नु भएका खनाल पटक पटक
मन्त्री बन्नु भएको थियो । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा
लाग्नुभएका खनाल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै
महासचिव सम्म हुनुभएको थियो । वि.सं. २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्सवादी) मिलेर नेकपा एमाले भएपछि
खनाल सो पार्टीको स्थायी समिति सदस्य रहँदै आउनु भएको थियो । २०६६ सालको बुटवल
महाधिवेशनमा तत्कालीन एमालेको अध्यक्ष निर्वाचित हुनु भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक गर्नु भएका
खनालले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । कम्युनिष्ट
पार्टीको सदस्यता लिएसँगै राजनीतिक यात्राको सुरूवात गर्नु भएका खनालले ३३ वर्षको
उमेरमा नेकपा (माले)को महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य
रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गर्नुभएको थियो ।
खनालले राजनीतिक जीवनको सुरूवातसँगै विज्ञान विषयको शिक्षकका रूपमा जागीरे
जीवन पनि विताउनु भयो । उहाँ वि.सं. २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष हुनुभएको
थियो । राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा
राजनीतिमा सक्रिय हुनुभएको थियो । नेकपा एमालेको पाँचौं, छैठौं र सातौं महाधिवेशनपछि
एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा सदस्य रहेर खनालले पार्टीको काम
गर्नुभएको थियो । बुटवलमा सम्पन्न तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनबाट
अध्यक्षमा निर्वाचित हुनुभएकोथियो । उहाँ पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भइ गठित
नेकपाको वरिष्ठ नेता हुनुहुन्छ ।