1869-1897 BS
उहाँ काजी कालु पाँडेको नाती एवं काजी दामोदर पाँडेको पुत्र रणजङ्ग पाँडेको जन्म वि.सं. १८४५ मा काठमाडौंमा भएको थियो । पिता दामोदर पाँडेको भद्रकालीमा हत्या भएपछि वि.सं. १८६१ सालमा उहाँ भारततर्फ जानुभएको थियो । उहाँले वि.सं. १८७२ मा नेपाल फर्केर सगंठित रूपले भिमसेन थापा विरूद्ध विद्रोह शुरू गर्नुभएको थियो । पुष्कर शाहले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि वि.सं. १८९६ पुस २८ उहाँ गते प्रधानमन्त्री हुनुभएको थियो ।
उहाँको कार्यकालमा वि.सं. १८९७ असार १० गते नेपालको र्इतिहासमै पहिलो सैनिक विद्रोह भएको थियो । राष्ट्रिय आर्थिक संकटका कारण लामो समयसम्म तलब नपाएकोले टुँडीखेलमा प्रदर्शनमा उत्रिएका नेपाली सेनाको फौजले तत्कालिन सरकारका पदाधिकारीहरूको घरमा आगजनी एवं तोडफोड समेत गरेको थियो । उहाँकै कार्यकालमा नेपाली सेनाले उत्तरी विहारको वेतिया जिल्लामा पर्ने रामनगरका एकाननब्बे गाउँमा आक्रमण गरेको थियो ।
वि.सं. १८९७ कात्तिक १८ गते पदमुक्त हुनुभएको उहाँको निधन वि.सं. १९०० वैशाखमा भएको थियो ।