Former Prime Ministers of Nepal

Pushpa Kamal Dahal

2065-2053 BS, 2073/04/19-2074/02/23 BS

पुष्पकमल दाहाल प्रचण्ड को जन्म वि.सं. २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाउँ विकास समिति वार्ड नं. लिवाडेमा भएको हो पिता मुक्तिराम दाहाल र माता भवानी देवी दाहालको ज्येष्ठ सन्तानका रुपमा जन्मिनु भएका प्रचण्डका एक भाइ र ६ दिदीबहिनी हुनुहुन्छ । उहाँको वाल्यकालको नाम छविलाल दाहाल थियो । २०२६ सालमा सीता दाहालसँग वैवाहिक सम्बन्ध गाँस्नु भएका प्रचण्डका एक छोरा र तीन छोरीको जन्म भएको थियो ।

प्रचण्डको परिवार वि.सं. २०१९ सालमा कास्कीबाट बसाइ सरी चितवनको शिवनगर गाउँ विकास समिति गएको थियो । प्राथमिक शिक्षा कास्कीको ढिकुर पोखरीमै गर्नु भएका प्रचण्डले माध्यमिक तहको पढाई नारायणी विद्यामन्दिर चितवनमा पूरा गर्नु भएको थियो । उहाँले वि.सं. २०२९ सालमा पाटन बहुमुखी क्याम्पस ललितपुरबाट आर्इ.एस.सी. उत्तीर्ण गरी वि.सं. २०३३ सालमा कृषि क्याम्पस रामपुर चितवनबाट कृषि विषयमा बि.स.सी. गर्नुभएको थियो ।

वि.सं. २०३५ सालसम्म विभिन्न शैक्षिक संस्थामा शिक्षण पेशासमेत अंगाल्नु भएका प्रचण्डले वि.सं. २०२८ सालमा पुष्पलाल समुहबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।  वि.सं. २०३४ सालमा पुष्पलाल समुहबाट चौथो महाधिवेशनमा प्रवेश गर्नुभएका उहाँ त्यसको एक वर्षपछि पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभएको थियो । वि.सं. २०३८ सालमा नेकपा चौथो महाधिवेशनको क्षेत्रीय ब्यूरो सदस्य, अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव हुँदै उहाँ वि.सं. २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय सदस्य, वि.सं. २०४२ सालमा नेकपा (मशाल)को पोलिटब्यूरो सदस्य,  वि.सं. २०४६ सालमा नेकपा (मशाल)को महामन्त्री बन्नुभयो ।

वि.सं. २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री हुँदै वि.सं. २०५१ सालमा नेकपा (माओवादी)को पनि महामन्त्री बन्नु भएका उहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वि.सं. २०७५ मा पार्टी एकता भएपछि पनि पार्टीका दुई अध्यक्ष मध्ये एक हुनुहुन्छ । उहाँले वि.सं. २०५२ सालदेखि वि.सं.२०६३ सम्म सशस्त्र विद्रोहको समेत नेतृत्व गर्नुभयो ।

१० वर्षसम्म चलेको सशस्त्र संघर्षलाई विराम दिएर शान्ति प्रक्रियाको थालीनपछि वि.सं. २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट उहाँ संविधानसभा सदस्य निर्वाचित हुनुभयो । संसद्को समेत कार्यव्यवहार गर्दै आएको उक्त सभाले वि.सं. २०६५ साउन ३१ गते प्रचण्डलाई पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । उहाँ वि.सं. २०६६ असार १४ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो ।

विसं २०७३ साउन १९ गते उहाँ दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । उहाँ वि.सं. २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री रहनुभएको थियो ।