Former Prime Ministers of Nepal

Khil Raj Regmi

2069/12/1-2070/10/28

वि.सं. २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक गाविसको वडा नं ६ धोवादी गाउँमा जन्मनु भएका रेग्मीले स्थानीय नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । वनारसबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएका रेग्मीले भारतको उत्तर प्रदेश राज्यबाट सन् १९६६ मा प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तथा स्नतकोत्तर तहको अध्ययन पूरा गर्नु भएको थियो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला खिलराज रेग्मीलाई संविधानको बाधा अड्काऊ फुकाउँदै मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको थियो । संविधान जारी गर्न नसकी वि.सं.२०६४ सालमा निर्वाचित पहिलो संविधानसभा विघटित भएपछि वि.सं. २०६९ चैत १ गते रेग्मीलाई राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको थियो । रेग्मी त्यसअघि वि.सं. २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त हुनुभएको थियो ।

वि.सं. २००६ जेठ १८ गते पाल्पा जिल्लामा जन्मनु भएका रेग्मीले वि.सं. २०२८ मा न्याय सेवाको अधिकृत पदबाट सेवा प्रवेश गर्नुभएको थियो । वि.सं. २०३० चैतमा जिल्ला न्यायाधीश हुनुभएका रेग्मी केही वर्ष सर्वोच्च अदालतको सहरजिस्ट्रारको अनुभव बटुलेर वि.सं. २०४८ मा पुनरावेदन अदालतको न्यायाधीश नियुक्त हुनुभयो । पुनरावेदनको मुख्य न्यायाधीश हुँदै वि.सं. २०५९ माघ १५ मा रेग्मी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुभयो ।

संविधानसभाको दोस्रो निर्वाचन गरी वि.सं. २०७० माघ २८ गतेसम्म मन्त्रिपरिषद् अध्यक्ष रहनु भएका रेग्मीले वि.सं. २०७१ जेठ १७ मा उमेर हदका कारण प्रधानन्यायाधीशबाट अवकास पाउनुभएको थियो ।