Former Prime Ministers of Nepal

Krishna Prasad Bhattarai

2047-2048 BS, 2056-2056 BS

कृष्णप्रसाद भट्टराईको जन्म संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं १९८१ पुसमा भारतको बनारसमा भएको थियो। राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेर सपरिवार बनारस पुगेको भट्टराई परिवारले बिहारको रामनगर राज्यका राजाका पुरोहितको काम गर्दै आएको थियो। भारतीय स्वतन्त्रताका लागि भएको आन्दोलनमा सकृय पुरोहित संकटाप्रसादका चार भाइ छोराहरू मध्ये कान्छा कृष्णप्रसाद राजनीतिमा अगुवा हुन पुग्नुभयो। किशुनजी नामले समेत चिनीने भट्टराई आजीवन अविवाहित रहनु भयो।

बनारसमा जन्मनु भएका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। उहाँले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गर्नुभयो । सोही विषयमा एम.ए. तहको अध्ययन गर्दागर्दै भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कारण पक्राऊ पर्नुभयो र अध्ययन पूरा हुन सकेन । कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार पनि हुनुहुन्थ्यो।

उहाँ वि.सं. २०१५ सालमा नेपालको पहिलो संसद (प्रतिनिधिसभा)का सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि वि.सं. २०४७ साल वैशाख ६ गते प्रधानमन्त्री नियुक्त हुनुभयो । वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो। वि.सं. २००७ सालमा कांग्रेसले चलाएको सशस्त्र क्रान्तिमा उहाँ जनकपुर–उदयपुर कब्जा गर्ने कमाण्डर हुनुहुन्थ्यो ।

वि.सं. २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेर उहाँले नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने भूमिका बहन गर्नुभएको थियो । तर आफू प्रधानमन्त्री हुँदै गराएको वि.सं. २०४८ को आम निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नं १ बाट तत्कालीन नेकपा (एमाले)का महासचिव तथा चर्चित नेता मदन भण्डारीबाट पराजित हुनुभएको थियो।

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा दोस्रो स्थानमा पुगेको उहाँको पार्टी नेपाली कांग्रेस पछि वि.सं. २०५६ को आम निर्वाचनमा उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा गएको थियो । सो चुनावमा कांग्रेसले बहुमत हासिल गर्‍यो  वि.सं. २०५६ जेठ १७ गते उहाँ दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो । संसदमा पार्टीको बहुमत रहे पनि उहाँको कार्यकाल १० महिना मात्रै रहन पुग्यो । वि.सं. २०५६ चैत ७ गते उहाँ प्रधानमन्त्री पदबाट हट्नुभयो र गिरिजाप्रसाद कोइराला पुन प्रधानमन्त्री बन्नुभयो।

भट्टराई सन् १९४२ को अंग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी हुने क्रममा अंग्रेज सरकारबाट पक्राउ पर्नुभएको थियो। उहाँले सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा पनि काम गर्नुभयो । त्यसपछि उहाँले नेपालबाट राणा शासन हटाउने आन्दोलनको अगुवाई गर्न थाल्नुभयो। त्यसक्रममा भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा संगठन मन्त्रीको पद सम्हाल्नुभयो। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली कांग्रेस गठनपछि उहाँ सहमहामन्त्री बन्नुभयो। नेपाली कांग्रेसको वि.सं. २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभयो। बीपीको निधनपछि वि.सं. २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा रहेर नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो। नेपाली कांग्रेसको आठौं महाधिवेशन वि.सं. २०४८ मा सर्वसम्मतिबाट सभापतिमा निर्वाचित भएपछि भट्टराईले वि.सं. २०५३ सम्म सभापतिको पद सम्हाल्नुभयो। वि.सं. २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि भट्टराईले गर्नुभएको थियो। जीवनको उत्तरार्दमा भने उहाँले सैद्धान्तिक विमति जनाउँदै नेपाली कांग्रेस परित्याग गर्नुभयो। वि.सं. २०६७ फागुन २० गते उहाँको निधन भयो।