Former Prime Ministers of Nepal

BP Koirala

2077-3-28

नेपालका राणा प्रधानमन्त्री चन्द्रशमशेरले गिरफ्तार गरि सर्वस्वहरण गर्ने हुकुम जारी गरेपछि भागेर भारत पुगेका कृष्ण प्रसाद कोइरालाकी कान्छि पत्नीका जेठा सन्तानको रुपमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म वि.सं. 1971 भदौ 24 गते भारतको बाराणासीमा भएको थियो । विपी कोइरालाको बाल्यकाल अत्यन्त दुःख कष्ठका साथ भारतका विभिन्न स्थानमा बसाइ गर्दै बित्यो । भारतमा बस्दा उहाँको विद्यालय अध्ययनका साथै साहित्यमा पनि रुची बढ्दै गयो । भारतमा महात्मा गान्धीको उदय भए सँगै उहाँको पनि राजनीति गतिविधिमा संलग्नता बढ्दै गयो । त्यसै शिलशिलामा सन् 1930 मा उहाँ पहिलो पटक गिरफ्तार हुनुभयो । तर  15 वर्षे ठिटो भनेर अङग्रेज शासकले रिहा गरे । यसबाट उहाँलाई राजनीतिमा संलग्न हुन थप हौसला मिल्यो । यता नेपालमा चन्द्रशमशेरको मृत्युपछि वि.सं. 1986मा भीमशमशेर प्रधानमन्त्री भएपछि उहाँको परिवारले नेपाल फर्कने अनुमति पायो । वनारसको काशी हिन्दु विश्वविद्यालयमा पढ्दै गर्दा उहाँलाई वामपन्थी विचारले आकर्षित गरेको थियो । राजनितिशास्त्र र अर्थशास्त्रमा स्नातक गर्नुभएका विपिले वि.सं. 1993 मा कलकत्ताबाट कानूनमा समेत स्नातक गर्नुभयो ।  उहाँ कांग्रेस सोसलिस्टको विहार राज्य सचिव बन्दै भारत छोडो आन्दोलनमा सक्रिय हुन थाल्नुभयो । आन्दोलनमा लाग्दा उहाँ पुनः जेलमा पर्नुभयो । यता नेपालमा राणाविरोधी आन्दोलनमा लाग्नुभएका उहाँका पिता वि.सं. 1999 मा जेल पर्नुभयो र कुनै उपचारको प्रबन्ध नहुँदा वि.सं. 2001 मा निधन भयो ।  आन्दोलन, जेल जीवन पारिवारिक जिम्वारीले उहाँपनि रोगी हुनुभयो । बनारसमा उहाँले कृष्णप्रसाद भट्टराई, सुर्य प्रसाद उपाध्याय लगायतको साथमा देवीप्रसाद सापकोटाको अध्यक्षतामा अखिल भारतीय नेपाली काँग्रेस स्थापना गर्नुभयो । गणेशमान सिंह र बालचन्द्र शर्मा समेतको संलग्नतामा यसै गरि सन् 1946 जनवरीमा प्रजातन्त्रवादी नेपालीहरुको साझा संस्था नेपाली काँग्रेस स्थापना भयो । वि.सं. 2006 सालको ऐतिहासिक विराटनगरको मजदुर हड्तालमा सरिक हुनुभयो । यसै क्रममा उहाँले वि.सं. 2006 साल भदौ 16 मा बैरगनिया सम्मेलन बोलाएर मुक्तिसेनाको गठन गरी शसस्त्र आन्दोलनको शुरुवात भयो । सशस्त्र आन्दोलनले तिव्र गति लिएपछि राजा त्रिभुवन सपरिवार भारतीय दुतावासमा शरण लिई दिल्ली प्रस्थान गरे र दिल्लीमा भारतीय नेताहरुको रोहवरमा गते राजा, राणा र नेपाली काँग्रेसकाबीच त्रिपक्षीय सम्झौता भयो । दिल्लीबाट राजा फर्किएपछि 2007 फागुन 7 गते नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको घोषणा भयो । राजाबाट राणा-काँग्रेसको संयुक्त मन्त्रिमण्डल गठन भयो र त्यो मन्त्रिमण्डलमा विपी गृहमन्त्री चुनिनु भयो । वि.सं. 2015 साला फागुन 7 गते बाट आमनिर्वाचन भयो। 109 निर्वाचन क्षेत्रको लागि भएको चुनावमा नेपाली काँग्रेसले 74 स्थानमा जीत हासिल गर्दै सबैभन्दा ठूलो दल बन्नपुग्यो । वि.पी. कोइराला प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नु भयो । उहाँको नेतृत्वको सरकारले भूमि सुधारसम्बन्धी कार्यक्रमहरु, छिमेकी राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्धको विस्तार र प्रजातन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण कार्यहरुको सुरुवात गर्नुभयो । प्रजातान्त्रिक सरकार बनेको दुइवर्ष नपुग्दै राजा महेन्द्रले  वि.सं. 2017 साल पुष 1 गते निर्वाचित सरकारलाई बर्खास्त गरी प्रजातन्त्रमाथि प्रतिबन्ध गरी पञ्चायति शासन व्यवस्थाको सुरुवात गर्नुभयो । प्रधानमन्त्री वि.पी. कोइराला लगायत राजनीतिक नेताहरुलाई बन्दि बनाइयो । उहाँ आफ्नो जीवनकाल भरी प्रजातन्त्रका लागि संघर्ष गर्नुभयो । लामो समयको कारावास, भारतमा निर्वासन जीवन र राष्टिय मेलमिलामपको नीति लिएर नेपालमा फर्कनु भयो । आफ्नो जीवनकाल भरी प्रजातन्त्र, राष्ट्रियता र मेलमिलापको पक्षमा संघर्ष गर्नुभयो । लामो समय देखि घाँटीको क्यान्सर रोगबाट थलिनु भएका उहाँको देश तथा विदेशमा उपचारको क्रम पनि चलिरहेको थियो तर उहाँलाई निको हुन सकेन र वि.सं. 2039 साल साउन ६ गते चावहिलमा उहाँको देहवसान भयो ।