Former Prime Ministers of Nepal

Baburam Bhattarai

2068/5/12-2069/11/30

बाबुराम भट्टराई गोर्खा जिल्लाको बेलबास, खोप्लाङमा वि.सं. २०११ असार ४ मा भोजप्रसाद भट्टराई र धर्मकुमारी भट्टराईको दोस्रो सन्तानका रुपमा जन्मिनुभएको हो । उहाँको वाल्यकालको नाम मुक्तिप्रसाद भट्टराई हो । उहाँका श्रीमती, एक छोरी, दुई दिदीबहिनी र एक भाइ हुनुहुन्छ ।

अनौपचारिक शिक्षा सेवा निवृत्त सैनिक भक्त बहादुर भूजेलबाट लिएका भट्टराई गाउँकै अमरज्योति हाइस्कूलमा एकै पटक तीन कक्षामा भर्ना भई सोही विद्यालयबाट वि.सं. २०२६ मा बोर्ड प्रथम हुँदै एसएलसी उत्तीर्ण गर्नुभएको थियो । अमृत साइन्स कलेज काठमाडौंबाट प्रविणता प्रमाणपत्र तह र भारतको चण्डीगढबाट उहाँले आर्किटेक्चर विषयमा स्नातक गर्नुभयो । दिल्लीस्थित स्कूल अफ प्लानिङ एण्ड आकिर्टेक्चरबाट उहाँले स्नातकोत्तर पास गरी क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी हासिल गर्नुभयो ।

उच्चशिक्षा अध्ययनका क्रममा उहाँ अखिल भारत नेपाली विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरी   सन् १९८१ मा मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो । औपचारिक शिक्षा सकेर नेपाल फर्केपछि पार्टीको पूर्णकालीन सदस्य बन्नुभयो । सन् १९९१ यता भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को पोलिट्ब्युरो सदस्यका रुपमा र सन् १९९१ र २००१ को बीचमा उहाँ संयुक्त जनमोर्चाका अध्यक्ष रहनुभयो ।

शान्ति प्रक्रियापछि भएको संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उहाँ संसद विजयी हुनुभयो । संविधान जारीपछि भएको आम चुनावमा पनि उहाँ गोरखाबाटै संसद सदस्य निर्वाचित हुनुभयो । तेस्रो पटक भने उहाँ नयाँ शक्ति पार्टी नेपाल गठन गरी सोही पार्टीका तर्फबाट संसद सदस्य निर्वाचित हुनु भएको हो ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उहाँले अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । एकीकृत नेकपा (माओवादी)को उपाध्यक्ष रहेका बेला २८ अगस्ट २०११ मा भट्टराई प्रधानमन्त्री बन्नु भएको थियो । उहाँ नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वि.सं. २०७६ वैशाख २३ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता गरी समाजवादी पार्टी नेपाल बनेको छ । भट्टराई हाल उक्त पार्टीको संघीय परिषद् अध्यक्ष हुनुहुन्छ ।