नेपालका पूर्व प्रधानमन्त्रीहरु

कीर्तिनीधि विष्ट

2077-3-28

कीर्तिनीधि विष्टको वि.सं. १९८३ साल माघ १ गते काठमाडौं ठमेलमा भएको थियो । उहाँले दरबार हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरी त्रिचन्द्र क्याम्पसबाट बीए पास गर्नुभएको थियो भने भारतको लखनऊबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गर्नुभयो। सन् १९४९ मा लखनऊमा पढ्दा पढ्दै राष्ट्रिय कांग्रेसमा प्रवेश गरी राजनीति शुरु गर्नुभयो । एमएको अध्ययन सकेर नेपाल फर्केपछि काठमाडौंमा उहाँले केही समय अध्यापन गराउनु भयो । उहाँ राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बन्नुभयो । यसैवीच  वि.सं. 2०१७ सालमा राजा महेन्द्रबाट निर्वाचित सरकार अपदस्थ गरी शुरु गरेको पञ्चायती व्यवस्थालाई खुलेर समर्थन गरेपछि उहाँको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो ।

वि.सं. 2०१८ साल मंसिर २९ गते राष्ट्रिय निर्देशन मन्त्री बन्नुभयो । राजा महेन्द्रले 2०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गर्दा उहाँ सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बन्नु भयो। वि.सं. 2०२३ साल माघ १४ गते विष्ट उपप्रधानमन्त्री बन्नुभयो र 2०२४ साल जेठ १५ गते पुनर्गठित मन्त्रिमण्डलमा उहाँ उपप्रधानमन्त्रीसहित परराष्ट्र र आर्थिक योजना मन्त्री बन्नु भयो। त्यसै गरी राजा महेन्द्रले 2०२५ साल चैत्र २५ गते उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो ।उहाँको पहिलो कार्यकाल वि.सं. 2026/12/31 सम्म रह्यो । त्यसै गरी वि.सं. 2028/01/01 मा उहाँ पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । उहाँको प्रधानमन्त्रीत्व कालमा वि.सं. 2030 साल असार 25 गते सिंहदरबारमा भिषण आगलागी भयो । यस घटनाले गर्दा उहाँले नैतिकताका आधारमा पदमा बसिरहन उपयुक्त नहुने भन्दै वि.सं. 2030 साउन 1 गते उहाँले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो। तर वि.सं. 2034 भदौ 27 गते राजा बिरेन्द्रले उहाँलाई पुनः प्रधानमन्त्री बनाउनु भयो । राष्ट्रिय पञ्चायतको ३० औं अधिवेशन चाँडै बस्न लागेको र सो पञ्चायतले नै नयाँ प्रधानमन्त्रीको सिफारिस गरोस् भन्ने राजाले चाहेको भन्दै वि.सं. 2०३६ साल जेठ १० गते उहाँले दोस्रोचोटि प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । उहाँको राजिनामा पछि राजा विरेन्द्रले वि.सं. 2036 जेठ 16 गते सुर्यबहादुर थापालाई प्रधान्मन्त्रीमा नियुक्त गर्नुभयो ।

चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु उहाँको कार्यकालमा हटाइएका थिए ।
उहाँको राजनीतिक विशेषता भनेकै भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।

त्यसै गरी तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भने विष्ट ०६१ साल माघ २० गते राजाको मन्त्रिमण्डलमा पुनः उपाध्यक्ष बन्नुभयो। ०६३ साल बैशाखमा जनआन्दोलन सफल नहुञ्जेल डा. तुल्सी गिरी र विष्ट दुबैजना ज्ञानेन्द्रको मन्त्रिमण्डलका उपाध्यक्ष हुनुहुन्थ्यो । पूर्व प्रधानमन्त्री विष्टको वि.सं. 2074 कात्तिक 25 गते 90 वर्षको उमेरमा काठमाडौंको ज्ञानेश्वरमा उहाँको निधन भयो ।