नेपालका ३७औं प्रधानमन्त्री, कार्यकाल : वि.सं. २०७० माघ २७ - वि.सं. २०७२ असोज २४
सुशील कोइरालाको जन्म सन् १९३९ मा पिता बोधप्रसाद र माता
कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो । वन अधिकृत पिता
बोधप्रसाद जागिरका सिलसिलामा नेपालगन्ज पुगेपछि कोइराला त्यहीँ हुर्कनुभएको थियो ।
उहाँ वि.सं. २०१० सालदेखि नेपाली कांग्रेसको
राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । वि.सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि
उहाँ १६ वर्षसम्म भारत स्व–प्रवासमा
रहनुभएको थियो । राजनीतिक संघर्ष र प्रवास बसाई जस्ता कारणले गर्दा उहाँ आजीवन अविवाहित
रहनुभयो ।
उहाँले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दी जीवन बिताउनुभएको
थियो । वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका कोइरालाले
महामन्त्री, उपसभापति र कार्यवाहक सभापति समेत भएर
काम गर्नुभएको थियो ।
पहिलो संविधानसभाको असफलतापछि भएको संविधानसभाको दोस्रो चुनावबाट सुशील
कोइराला बाँके र चितवनबाट संसद् सदस्यमा निर्वाचित हुनुभइ नेपालको ३७ औं
प्रधानमन्त्री बन्नुभएको थियो । व्यवस्थापिका संसदबाट वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्रीमा
निर्वाचित हुनुभएको हो । उहाँको प्रधानमन्त्रीत्व कालमा नै देशले संविधान सभाबाट
संविधान निर्माण गरेको थियो । सो पश्चात् भएको प्रधानमन्त्री निर्वाचनमा पनि उहाँ
उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ
दोस्रो पटक प्रधानमन्त्रीमा पराजित हुनुभयो । त्यसबेला मुलुकले दक्षिणी सीमामा
नाकाबन्दी भोगिरहेको थियो । वि.सं. २०७२ साल माघ २६ गते मध्यराती १२:५० मा काठमाडौँको महाराजगञ्जस्थित निवासमा निमोनियाको कारण
उहाँको निधन भएको थियो ।